- मुख्य पृष्ठ
- समाचार
मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार समर्पण कार्यक्रम
भिन्न माध्यम र क्षेत्रबाट नेपाली भाषा-साहित्यको क्षेत्रमा योगदान पुर्याएका पूर्व जनकपुर र पश्चिम महेन्द्रनगरका दुई साधकहरू डा. राजेन्द्र विमल र नरबहादुर साउदले क्रमश: जगदम्बा श्री तथा मदन पुरस्कार प्राप्त गर्नुभयो।
चार दशकयता मैथिलभाषी विद्यार्थीलाई नेपाली भाषामा शिक्षित गराउँदै आएका प्रा. डा. राजेन्द्र विमलले जगदम्बाश्री ग्रहण गर्दा दिएको प्रवचनमा 'नेपाली'को परिचय यसरी दिनुभयो- "नेपाली त्यो हो, जसको हृदयमा सिंगो नेपाल छ- न जात, न सम्प्रदाय, न क्षेत्र, न अन्य कुनै संकीर्णता। हृदयमा नेपाल हुनुको अर्थ हो- नेपाल कतै दुःखेको छ भने मेरो हृदय सहजै दुख्नुपर्छ। यस पुरस्कारले म लगायत नेपाली वाङ्मयका सम्पूर्ण स्रष्टालाई सन्देश दिएको छ, हाम्रो सिर्जनामा नेपाल रोएको क्रन्दन, स्वर सुनिनुपर्दछ, नेपाल मुस्कुराएको रंग छरिनुपर्दछ र नेपालको आँसु पुछेर त्यसलाई हाँसोमा परिवर्तन गर्ने शब्दको जादुगरी हुनुपर्दछ।"
२० वर्षअघि एउटा दुर्घटनापछि लगातार ओछ्यान परेका नरबहादुर साउदले 'नेपालको बालीनाली र तिनको दिगो खेती' पुस्तकका लागि मदन पुरस्कार पाउनु भएको थियो। साउदले आफ्नो मन्तव्यमा नेपाल कृषिप्रधान देश भईकन यही विषय र क्षेत्र ओझेलमा रहेको गुनासो गर्नुभयो।
मदन पुरस्कार गुठीका अध्यक्ष कमलमणि दीक्षितले 'मिथिला क्षेत्रकै अभिनन्दनका रूपमा' डा. विमललाई जगदम्बाश्री प्रदान गरिएको बताउनुभयो भने बिहारीकृष्ण श्रेष्ठले नेपाली समाजमा भएका र हुन नसकेका सुधारका पक्षमाथि विद्वत् प्रवचन दिनुभयो।