सम्वत् २०६७ को मदन पुरस्कार तथा जगदम्बा-श्री को घोषणा!
यही भदौ ३ गते बसेको मदन पुरस्कार गुठीको साधारण सभाको बैठकले २०६७ सालको मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार को घोषणा गरेको छ।
बैठकले जगदम्बा-श्री पुरस्कार "गत चार दशक देखि आफ्नो मातृभाषा तथा नेपालीमा सुमधुर गीत, कविता तथा बाल साहित्य लेखी नेपाली वाङ्मयलाई समृद्ध तुल्याउने काम निरन्तर गरिरहे" बापत कवि श्री दुर्गालाल श्रेष्ठलाई प्रदान गर्ने निर्णय गर्यो।
यसैगरी श्री झमक घिमिरेलाई "जीवन काँडा कि फूल" भन्ने आत्मपरक कृतिको लागि मदन पुरस्कार प्रदान गर्ने निर्णय पनि बैठकले गर्यो। यस अघि २०२२ सालमा पारिजातको "शिरीषको फूल"ले यो पुरस्कार प्राप्त गरे यता, विगत ४५ वर्षमा कुनै महिला लेखकको कृतिले मदन पुरस्कार प्राप्त गरेको यसै साल हो।
रू दुई लाख राशी रहेका यी पुरस्कारहरू आउँदो नौरथामा अर्पण गरिनेछन्।
मदन पुरस्कार गुठी
स्व. ज. मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाबाट स्थापित मदन पुरस्कारको घोषणा २०१२ साल असोज १० गते भएको थियो।पुरस्कार प्रदान गर्ने पहिलो घोषणा २०१३ सालमा भएको हो भने यसको वितरण २०१४ सालदेखि सुरू भएको हो। गुठीको निर्णयअनुसार प्रारम्भमा पुरस्कारको रकम रू ४०००/- रहेकोमा स्वर्णवर्षको अवसरमा २०६१ सालदेखि यसको रकम २००,०००/- भएको छ।
२०१३ सालमा पहिलोपटक “हाम्रो लोकसंस्कृति”का लागि सत्यमोहन जोशी, “जनरल भीमसेन थापा”का लागि चित्तरञ्जएन नेपाली तथा “अधिकविभव स्थिरविद्युत् उत्पादक” का लागि बलराम जोशीले मदन पुरस्कार प्राप्त गर्नुभएको थियो।२०३१ र २०३३ सालमा यो पुरस्कार कसैलाई प्रदान गरिएन।
रानी जगदम्बाको स्वर्गारोहणपछि निजको पुण्य स्मृतिमा गुठीले २०४५ सालमा स्थापना गरेको रू. १००,०००/-को पुरस्कार जगदम्बा-श्री सोही सालबाट नै वितरण भएको हो र हाल यस पुरस्कारको रकम रू. २००,०००/- छ। २०४५ सालमा नारायणगोपाल गुरूवाचार्यले सर्वप्रथम यो पुरस्कार प्राप्त गर्नुभएको थियो।
मदन पुरस्कार एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरू मध्ये एक कृतिलाई प्रदान गरिने पुरस्कार हो भने जगदम्बा-श्री नेपाली भाषा, संस्कृति, साहित्य लगायतका विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्या्उने व्यक्ति वा संस्थालाई प्रदान गरिने पुरस्कार हो।
मदन पुरस्कार तथा जगदम्बा-श्री पाउनुहुने व्यक्तित्वहरु
मदन पुरस्कार र जगदम्बा-श्री पुरस्कार विजेताहरुको नामावली


