हामी दैहिक छौँ र एक दिन हामी अनन्तको बाटो लाग्नेछौँ : अम्बर गुरूङ


विसं १९९४-२०७३

विसं १९९४-२०७३

बाबु उजिरसिंह गुरूङ र आमा रणुकादेवीका सुपुत्रका रूपमा विस १९९४ साल फागुन १४ गते लालढिकी, दार्जीलिङमा जन्मनुभएका अम्बर गुरूङको आज मिति २०७३ जेठ २५ गते विहान २ बजेर ३७ मिनेट जाँदा निधन भएको छ। मदन पुरस्कार गुठी परिवार वहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना गर्दछ।

 

“विगत चार दशक यता सङ्गीत-साधनामा निरन्तर लगनशील रही सांगीतिक माध्यमद्वारा नेपाली कला र संस्कृतिको उत्थानका साथै नेपाली भाषा साहित्यको श्रीवृद्धि गर्न सशक्त योगदान गरेबापत श्री अम्बर गुरूङलाई प्रदान गरिएको संवत २०५४ सालको पुरस्कार ‘जगदम्बा-श्री’ ग्रहण गरेपछि वहाँबाट व्यक्त उद्‍गार।

मदन पुरस्कार गुठीका आदरणीय अध्यक्षज्यू, सदस्य सचिवज्यू, सदस्यज्यूहरू र यहाँ पाल्नुभएका सबै महानुभावहरू।

म सबैमा हार्दिक अभिवादन जनाउन चाहन्छु। पुरस्कार पाउने व्यक्तिले आफ्नो मन्तव्य भन्नुपर्छ भन्ने आग्रह हुँदा सो भन्न म यहाँ उभिएको छु। पुरस्कार सम्बन्धी धेरै कुराहरू मलाई थाहा छैन र आफ्नो अल्प विचारमा लागेका कुराहरू मात्र भन्ने मैले धृष्टता गरेको छु र त्यो पनि सर्वसम्मत हुनुपर्छ भन्ने म ठान्दिनँ।

यो यहाँहरूलाई भनिरहने कुरा होइन कि पुरस्कार व्यक्ति, उमेर तथा जेष्ठतालाई होइन कृतिलाई प्रदान गरिनुपर्छ, तर पनि कृतिका रचयिता व्यक्ति नै हुन्छ जसले कृति तथा कला रच्ने क्रममा बेलाबखत ठूला-ठूला दु:ख झेलेर, विसङ्गतिमा रूमलिएर र कैलेकाहीँ असमझदारी र पक्षपातको सिकार भएर अपमानित तथा जोखिमपूर्ण जिन्दगी बाँचेको हुन्छ। तर पनि विडम्बना के छ भने, यी सबै सङ्घर्षरत कुराहरू मात्र पुरस्कार प्रदान गरिने मापदण्ड नभएर रचिएका कृतिहरूको स्तरीयता तथा श्रेष्ठता नै पुरस्कार प्रदान गरिने तथा जोख्ने तराजु हुन्छ। भौतिक विपदा तथा त्यस्ता कुराहरू त कृतिकार अकृतिकार र प्राय: सबैलाई परी आउने प्राकृतिक तथा सांसारिक नियम हुन्। यसमा शङ्का छैन कि पुरस्कार प्रणाली कतिका रचयीताहरूलाई प्रोत्साहित पार्ने मानव सभ्यताको एउटा सबल पक्ष हो। तर पनि सबै महान् कृतिकारहरू पुरस्कृत भएका छैनन् र अर्कोपट्टि कतिले त पुरस्कार लिनसमेत अस्वीकार गरेका छन्। मेरो विचारमा पुरस्कार भनेको एक हिसाबले जन-अनुमोदन अथवा ‘रिकगनाइजेशन’ हो र यस्तो अनुमोदन कैयौं कृतिकारहरूले ज्यादै ढिलो गरेर पाएका छन्। इङ्गल्याण्को चित्रकार जोह्न कन्सेबलको नाम उदाहरणको लागि यसमा लिन सकिन्छ, जसले कठोर सङ्घर्षरत जीवनयापन गर्दा आफ्नी श्रीमती तथा बच्चाहरू मरिसकेपछि मात्र जनअनुमोदन पाए जुनबेला आफ्नो खुसी बाँड्न उसको परिवार कोही रहेन। यसलाई नियति भनौं कि विडम्बना मलाई भन्न आएन तर पनि हृदय चाहिँ विदारक हुन्छ।

पुरस्कारको सम्बन्धमा म ज्यादा के बोलूँ, उपस्थित विज्ञ महानुभावहरूलाई यो जिम्मेवारी छोडेर म आफ्नो विषयप्रति लागूँ। सङ्गीत क्षेत्रमा म स्वेच्छाले उत्रेको हुँ र दु:ख-सुख जे भोगेको छु त्यसको जिम्मेवार पनि म स्वयं छु। मेरा पिताजीलाई म यस क्षेत्रमा लागेको मन परेको थिएन। सायद वहाँलाई थाहा थियो कि कलाकारको जीवन अनिश्चित र जोखिमपूर्ण हुन्छ। अर्को कुरा, नेपाली साङ्गीतिक संस्कृतिमा मेरो योगदान हुन्छ तथा राष्ट्र तथा जातिलाई मेरो टेवा हुन्छ भनेर पनि म यस क्षेत्रमा लागेको होइन। त्यसबेला मैले सङ्गीत कलाकृति हुन्छ भनेर बुझेको थिइनँ र सङ्गीत मेरो लागि व्यक्तिगत शौक मात्र थियो र अहिले यो साधना भएको छ। जुनै पनि साधना कष्टसाध्य हुन्छ तर आनन्द पनि दिन्छ भन्ने कुरा म भर्खर-भर्खर बुझ्दै छु। मेरो विचारमा एउटा कलाकारको लागि उसको कृति अरूले बुझिदिनु नै सबभन्दा ठूलो उपहार हो तर पनि कृतिमा स्तरीयता हुनैपर्छ भन्ने मेरो अठोट छ।

सस्तो कला तथा प्रसिद्धिले राष्ट्रलाई कुनै पनि योगदान दिन सक्तैन उल्टो विकृति ल्याउँछ र अनिश्चित बाटोतिर लाग्छ। हाम्रा श्रोताहरूलाई समेटेर भन्नु पर्दा हामीकहाँ ज्यादा जस्तो विचारन्यून श्रोताहरू नै छन्, जे पायो त्यही सुन्यो र स्तरीयता तथा निम्नताका विचारै नगरी त्यसलाई कला भनेर अङ्गीकार गर्ने गर्छन् उनीहरू। त्यसो गर्नु उचित हुँदैन। कलाकृतिमा सौन्दर्यवोध, संवेदनशीलता, मानवीय भावना र उच्चकोटीको आदर्श रहेन भने त्यो कलाकृति रहँदैन। त्यसैले सृजनकला र उच्चकलाकारिताले मात्र हामीलाई सभ्य तथा संस्कृत बनाउँछ। हामी मौलिक हुनलाई हाम्रा कलाकृति पनि मौलिक हुनुपर्छ। अनुकरणले हामीलाई कहिले पनि उँभो लाउन सक्दैन। यसो भन्नुको तात्पर्य मैले गरेका सङ्गीत उच्चकोटीका तथा सबल छन् भन्न खोजेको होइन। म त प्रयास मात्र गर्छु। मैले रचेको, लेखेको र गाएको सङ्गीत मेरो प्रयास मात्र हो र मैले आफू धेरैजसो विफल नै ठानेको छु।

मेरो सङ्गीतको एउटा सानो संसार छ, जो ज्यादै वैयक्तिक छ र एक्लो पनि। यसैमा मेरो रच्ने, लेख्ने र गाउने प्रयास चलिरहेको छ र यसैमा म रमिरहेको छु। थाहा छैन कहिलेसम्म यो प्रयास जारी रहन्छ। तर एउटा कुरा के थाह छ भने हामी दैहिक छौँ। र एक दिन हामी अनन्तको बाटो लाग्नेछौँ। र जानु भन्दाअघि नै हामीले आउने पिँढीका निम्ति स्थान छोडिदिनुपर्छ कि नयाँ राम्रा कलाकृतिले देशभरि सुवास फैलाउन सकून्। राष्ट्रको निम्ति यो भन्दा राम्रो विकल्प अरू के होला त?

यहाँहरू मलाई पुरस्कारको काबिल सम्झनुभयो र मदन पुरस्कार गुठीले मलाई “जगदम्बा-श्री” पुरस्कार गरेर गौरवान्वित बनाउनुभयो जसको निम्ति म हृदयबाट नै अध्यक्षज्यू, सदस्य-सचिवज्यूहरूमा कृतज्ञता ज्ञापन गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्छु र उपस्थित महानुभावहरूलाई प्रणाम गर्छु।

धन्यवाद
२०५५ माघ ८